कुखुराको भालेको आक्रमण बाट प्रहरीको ज्यान गयो

एजेन्सी

लडाकु कुखुराको भालेको आक्रमण बाट फिलिपिन्समा एकजना प्रहरीको ज्यान गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइ लागेको थियो । उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाँउमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न पुगेका प्रहरी अधिकारी क्रिस्टियन बोलोकको ज्यान गएको हो ।

उनले जुधिरहेको एउटा भालेलाई समात्न खोजेका थिए । प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार लडाकु भालेको खुट्टामा धारिलो ब्लेड लगाइएको थियो । भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिन गयो । त्यहाँ पुगेका अन्य प्रहरीले ती अधिकृतको रगत रोक्न कपडाले खुट्टाको घाउमा बेरेका थिए । तर रगत बग्ने क्रम रोकिएन, अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको हो । त्यो क्षेत्रका प्रान्तीय प्रहरी प्रमुख कोलोनेल अर्नेल अपुदका अनुसार भालेको आक्रमणपछि अत्यधिक रक्तश्रावले ती प्रहरीको ज्यान गएको हो ।

यस्तो खेललाई सरकारले अवैध घोषणा गरिदिए पनि, अवैध रुपमा भाले जुधाउने खेल खेलाइन्छ । फिलिपिन्समा भाले जुधाइ अत्यधिक चर्चित खेल हो ।