शिव ताण्डव स्तोत्रको म्युजिक भिडियो

बिर्तामोड १३ कात्तिक । झापाको विर्तामोड नगरपालिका–२ चारपानेकी १३ वर्षीया वालगायिका कृपा पौडेलले शिव ताण्डव स्तोत्रको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । बुवा कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री उनले १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।

विर्तामोडस्थित मिडलप्वाइन्ट स्कूलकी कक्षा ८ कि विद्यार्थी उनी वोर्डिङ स्कूलमा पढेपनि सानैदेखि धार्मिक अनुष्ठानमा भजन गाउँथिन् । विर्तामोडमा रहेको सरगम संगीतालयमा संगीत सिक्दै गरेकी उनले वालाचतुर्दशी , शिवरात्री पर्वमा अर्जुनधारा जलेश्वरधाममा हुने धार्मिक अनुष्ठान , साहित्य चौतारी बिर्तामोड झापामा हुने विविध कार्यक्रममा समेत भजन , राष्ट्रिय गीत गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पार्थिन् ।

सुरीलो स्वरकी धनी कृपाले, महान् विद्वान एवम् परम शिवभक्त लङ्काधिपति रावणद्वारा रचिएको शिवको स्तोत्र शिव ताण्डव स्तोत्रको पाठ गरी म्युजिक भिडियो समेत निकालेर सवैलाई चकित पारेकी छिन् ।

पञ्चचामर छन्दमा रहेको शिव ताण्डव स्तोत्र यसको अनुप्रास र समास बहुलभाषा संगीतमय ध्वनी र प्रवाहको कारण शिवभक्तहरूमा प्रिय रहेको बताइएको छ । सुन्दर भाषा एवम् काव्यशैलीको कारण सम्पूर्ण स्तोत्रहरूमा विशिष्ट स्थानमा रहेको शिव ताण्डव स्तोत्रलाई पंकज सिग्देलको संगीत संयोजनमा कृपाले स्वर दिएकी छिन् । रंगनाथ खनालको तवलावादन र वाँसुरीवादक मित्र मगरको वाँसुरीवादनले शिव ताण्डव स्तोत्रलाई अझ मन्त्रमुग्ध वनाएको छ । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा छायाङ्कन गरिएको शिव ताण्डव स्तोत्रमा कृपाले र भगवान शिवको भूमिकामा माधव भेटवालले अभिनय गरेका छन् ।