उम्मेदवार बनेका ३४ प्रतिशतलाई आपराधिक मुद्दा

एजेन्सी

भारतीय राज्य बिहारमा विधान सभाका लागि चुनाव हुँदैछ । कोरोना महामारीका बीचमा पहिलोपटक भारतीय राज्यमा चुनाव हुन लागेको हो । जसअन्तर्गत पहिलो चरणको मतदान बुधबार हुँदैछ ।

चुनावमा कस्ता उम्मेदवार उठेका छन् भन्ने चासो मतदातालाई हुनु स्वभाविक हो । गैरसरकारी संस्था एसोसियसन फर डेमोक्रेटिक रिफर्मले मंगलबार सार्वजनिक गरेको एउटा रिपोर्टका अनुसार बिहारमा दोस्रो चरणमा हुने मतदान क्षेत्रमा उम्मेदवार बनेका झन्डै ३४ प्रतिशत उम्मेदवारविरूद्ध आपराधिक घटनामा संलग्न रहेकोै मुद्दा परेका छन् ।

दोस्रो चरणमा मतदान हुने ९४ सिटका लागि १ हजार ४ सय ६३ जना मैदानमा छन् । तीमध्ये ३ सय ८० जनाले आफूविरूद्ध जघन्य अपराधको मुद्दा रहेको बताएका छन् । यस्ता मुद्दामा धरौटीमा रिहा गरिँदैन र आरोप पुष्टि भए पाँच वर्षसम्म जेल बस्नु पर्छ । चार सय ९५ जना उम्मेद्वारले आफूसँग करोडौंको सम्पत्ति रहेको बताएका छन् भने तीन जना उम्मेद्वारले आफूसँग सम्पत्ति नभएको घोषणा गरेका छन् ।

यसरी मुद्दा खेप्ने उम्मेदवारहरू लगभग सबै पार्टीका छन् । उनीहरूमध्ये ४९ जनालाई महिलाविरूद्धको हिंसाको मुद्दा छ भने तीमध्ये पनि ४ जनालाई त बलात्कारको आरोप लागेको छ । ३२ जनालाई ज्यान मारेको मुद्दा छ भने १ सय ४३ जनालाई हत्या प्रयास गरेकोमा मुद्दा परेको छ ।

दोस्रो चरणमा चुनाव हुन लागेका ९४ सिट मध्ये ८४ वटा क्षेत्रलाई ुरेड अलर्टमा राखिएको छ । कुनै निर्वाचन क्षेत्रमा आपराधिक मुद्दा लागेको ३ भन्दा बढी उम्मेदवार छन् भने त्यो क्षेत्रलाई रेड अलर्टमा राखिन्छ ।

‘उम्मेदवार छनौटमा सर्वोच्च अदालतले दिएको निर्देशनलाई राजनीतिक दलहरूले बेवास्ता गर्दै पुरानै ढर्राबाट उम्मेदवार छानेका छन् । सबै प्रमुख पार्टीहरूले ४७ देखि ६४ प्रतिशतसम्म त्यस्ता उम्मेद्वार छानेका छन् , जसले आफूविरूद्ध मुद्दा रहेको बताएका छन्,’ एसोसियसन फर डेमोक्र्याटिक रिफर्मको रिपोर्टमा भनिएको छ । भारतको सर्वोच्च अदालतले गत फेब्रुअरीमा राजनीतिक दलहरूलाई आपराधिक पृष्ठभूमि भएकालाई टिकट दिनु र स्वच्छ छवि भएकाले टिकट नपाउनुको कारण सोधेको थियो ।

२४३ सदस्यीय विहार विधानसभाका लागि तीन चरणमा चुनाव हुनेछ । पहिलो चरणका ७१ सिटका लागि अक्टोबर २८, दोस्रो चरणका ९४ सिटका लागि नोभेम्बर ३ र नोभेम्बर ७ मा ७८ सिटका लागि तेस्रो चरणको मतदान हुनेछ ।