नेपाली जनता अभिभावक विहीन बन्न पुगेका छन्
भद्रपुर ८ कात्तिक । बडा दशैँको अवसरमा एक शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयमा आपत्ति जनाएका छन् । उनले, नेकपा नेतृत्वको सरकारको क्रियाकलापले नेपाली जनता अभिभावक विहीन बन्न पुगेको बताएका छन् ।
“जनतालाई बचाउन सके मात्रै राज्य बच्छ, राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । ” उनले भनेका छन्, “संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।”
शाहले, अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सद्भाव र सहकार्य छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप पनि लगाएका छन् । यसले गर्दा देशमा स्थिरतासहित सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको आसय ब्यक्त गरेका छन् । सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको शाहको दाबी छ ।
“दैनिक जीविकाको अत्यावश्यक वस्तुमा चर्काे मुल्य वृद्धि, अभाव , गुणस्तरमा ह्रास जस्ता बिषयले हाम्रो जनजीवन पिरोलिएको छ,” शाहले भनेका छन्, “अनि समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति खडा गरेको छ । त्यसैले सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहेका छन् ।”