नवरात्रको आठौँ दिन आज महागौरीको पूजा

ज्योतिषि डिपि भण्डारी

शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ ।

सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभय मुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको स्वरूप गोरो वर्णको छ । यिनको सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागोरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभाष भएको थियो । त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेव स्वामी पाऊँ भनी तपस्या सुरु गर्नुभयो । बाल्यकालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गङ्गा जलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ । जो कोहीले पनि मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

आजको दिन विभिन्न शक्तिपीठका बलि पनि दिइन्छ । सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन र अक्षता लगायत षोडशोपचारले गरिन्छ । त्यस्तै सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गरिन्छ भन पशुबलि पनि दिइन्छ ।