नेपाल एयर लाइन्सको काठमाण्डौ-भद्रपुर-काठमाण्डौ उडान सेवा बन्द

भद्रपुर, ६ कार्तिक । व्यवस्थापकीय पक्षको चरम लापरवाहीका कारण सरकारी स्वामित्वको नेपाल एयर लाइन्सको काठमाण्डौ-भद्रपुर-काठमाण्डौ उडान सेवा बन्द भएको छ ।

निजी विमान कम्पनीसितको साँठगाँठमा व्यवस्थापकीय जिम्मेवार व्यक्तिहरू अलमलिएपछि यात्रुको चाँप घटेको बाहना बनाएर काठमाण्डौ-भद्रपुर-काठमाण्डौ उडान बन्द गरिएको हो ।

२०५२ सालबाट हप्तामा एक पटक काठमाण्डौ-भद्रपुर-काठमाण्डौ उडान भर्दै आएको नेपाल एयर लाइन्सले निजी कम्पनीका विमान सेवासित प्रतिष्पर्धा गर्न नसकेको बाहना बनाएर उडान सेवा नै बन्द गरेपछि सरकारी स्वामित्वको विमान भद्रपुर नआउने अवस्था सिर्जना भएको छ ।

ट्वीनेटर विमान सेवा २०६३ बाट बन्द गरेपछि ७ वर्षसम्म झापाली यात्रुले सरकारी विमान कम्पनीको सेवा लिन पाएका थिएनन् । २०७० सालमा आन्तरिक उडामा ठूलो यात्रु सामथ्र्य भएको एमए ६० मार्फत हप्तामा दुई पटक काठमाण्डौ-भद्रपुर-काठमाण्डौ उडान भरिरहेको नेपाल एयर लाइन्सले बन्दाबन्दी सुरू भए यता कर्मचारी मात्र पालेर राखे पनि आन्तरिक उडान चल्न थालेपछि भद्रपुरमा विमान अवतरण नै नगरी सेवा बन्द गरेको छ ।

आन्तरिक उडानको पिक आवरमा आएर नेपाल एयर लाइन्सको सेवा बन्द हुनुका पछाडि व्यवस्थापन पक्ष तथा कर्मचारीको निजी विमान कम्पनीसितको कमिसन साँठगास भएको सेवाग्राहीको आरोप छ । चाहेर पनि नेपाल एयर लाइन्समा टिकट नपाउने समस्या विगतदेखिकै रोग थियो । निजी विमानको टिकट सहजै पाइने तर सरकारी स्वामित्वको विमानको टिकट नपाउने दीर्घ रोग कर्मचारीले सिर्जना गरेकै कारण नेपाल एयर लाइन्सले खाली सिट लिएर उड्नु परेको सेवाग्राहीले पटक पटक गुनासो पोख्ने गरे पनि व्यवस्थापन पक्षले सुनुवाइ नगर्दा विमान सेवा नै बन्दको अवस्था आएको हो ।