झापामा आज ३० कोरोना संक्रमित थपिए, अर्जुनधारा र बिर्तामोड अनिश्चतकालिन बन्द

भद्रपुर ३० असोज । झापाको अर्जुनधारा नगरपालिकाले समुदायमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दैे अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय बन्द गर्ने निर्णय गरेको हो । अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको शंकर अस्पताललाई पनि ३ दिनसम्म बन्द गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । तीन दिनपछि अस्पताललाई पूरै डिस्इन्फेन्टेन्ट गराएपछि अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिइने भएको छ अहिलेसम्ममा अर्जुनधाराको समुदायका ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । बैठकले कोरोना भाइरस संक्रमण सम्बन्धी जनचेतनामुलक माइकिङ गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, चाडपर्व नजिकिएकाले यस समयमा गरिने विभिन्न पूजा–आजामा पनि सतर्कता अपनाइने भएको छ । बैठकको निर्णयअनुसार विभिन्न शक्तिपीठमा औपचारिक पूजामात्र गर्न दिइने भएको छ । चोक बजारमा गरिने सबै किसिमका पूजाआजामा रोक लगाइएको छ । बैठक सीसीएमसीका संयोजक तथा नगरपालिकाका मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको हो ।

यसैगरी, कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि विर्तामोड नगरपालकाले अतिआश्यक बाहेकका कामहरु बन्द गर्ने निर्णय गरेको छ । विर्तामोड नगरकार्यापालिकाले आज बसेको बैठकले कार्तिक ६ गतेसम्मका लागि नगर तथा सम्पूर्ण वडाकार्यालयबाट प्रदान गरिने अतिआवश्यक काम बाहेक अन्य कामकाज बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले नगर क्षेत्र भित्रका बैंक वित्तिय संस्था तथा सहकारीहरुले प्रदान गर्ने सेवाहरुमा नगद लिने तथा दिइने काम बाहेक अन्य सेवा बन्द गर्ने भएको छ । सेवाग्राहीले भौतिक दुरी कायम गरी मास्क तथा सेनिटाइजरको प्रयोग गरेरमा मात्र सेवा लिन पाउँने छन् । बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । विजयादशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नै पर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न नगरपालिकाले सुझाएको छ ।

यस वर्षको विजयादशमीको टिका लगाउने आर्शिवाद लिने धार्मिक एवम सास्कृतिक प्रचलनलाई घर घर मै मनाउन नगरपालिले भनेको छ । नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

यता, जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको बिबरण अनुसार, आज झापाका नौ स्थानीय तहका एक स्वास्थ्यकर्मी सहित ३० जना स्थानीयमा ओरोना संक्रमणको पुष्टि भएको छ । जसमा ८ महिला र २२ पुरुष रहेकाछन् । स्वास्थ्य कार्यलयका अनुसार, सवैभन्दा बढी बिर्तामोड नगरपालिकामा ९ जना, भद्रपुर नगरपालिकामा ७, दमक नगरपालिकामा ४, अर्जुनधारा नगरपालिकामा ३, गौरादह नगरपालिकामा २, बुद्घशान्ति गाउँपालिकामा २, कमल गाउँपालिकामा १, शिवसताक्षी नगरपालिकामा १ जना र कनकाइ नगरपालिकामा १ जना रहेकाछन् । यसैक्रकमा आज कनकाइ नगरपालिकाका ५१ बर्षिय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । योसंगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्को छ ।