डरलाग्दो अजिंगरसँग अनौठो मित्रता

एजेन्सी, २७ असोज । इजरायलमा एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेकी छन् । इनबर नामकी ती बालिकाको सबैभन्दा मिल्ने साथी भनेकै घरमा पालिएको अजिंगर हो । अरुलाई देख्दै डरलाग्दो त्यो अजिंगर उनीसँगै पौडी खेल्ने साथी पनि हो । यी दुई स्विमिङ पुलमा सधैं सँगै हुन्छन् । पहेँलो रंगको उक्त अजिंगरको लम्बाइ ११ फुट छ । त्यसको नाम बेल्ले हो । धेरै बच्चाहरु सर्प त परै जाओस् छेपारो तथा माउसुली देखेर समेत डराउँछन् । तर इनबरचाहिँ अजिंगरसँगै बस्छिन्, अंकमाल गर्छिन्, काँधमा राख्छिन् र लुटुपुटु गर्छिन् ।

इनबर आफ्ना बुवा–आमासँगै दक्षिण इजरायलको एक कृषि समुदायको जनावर पार्कमा अवस्थित घरमा बस्दछिन् । सानैदेखि उनलाई घरपालुवा जनावर निकै मन पर्दथे । इनबर र बेल्लै सानै उमेरदेखि सँगै हुर्किएका हुन् । अहिले दुवै अलिक ठूला भैसकेका छन् । समयक्रमसँगै उनीहरुको मित्रता पनि गाढा बन्दै गएको इनबरकी आमा बताउँछिन् ।