नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी

भद्रपुर २७ असोज । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् । गृहको आज विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् । यस अघि उनी नारी सञ्चार गृहको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।

महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको यस अघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल थिए । आज विहान विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा उद्घाटन भएको थियो ।