भद्रपुरमा १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, मेची अस्पतालको सेवा अवरुद्ध
भद्रपुर, असोज २३ । झापा सदरमुकाम भद्रपुरमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेहरूमा चिकित्सक, उद्योगी र ट्राफिक प्रहरीलगायत गरी एकैदिन १६ जनालाई भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरूमा १५ पुरुष र १ महिला रहेका छन् । त्यस मध्ये मेची अस्पतालका ३ जना चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ ।
मेची अस्पतालका चिकित्सकलाई कोरोना पुष्टि भए संगै धेरै डाक्टरहरु क्वारेन्टाइनमा रहेको हुँदा अस्पतालले दिने ओपिडी सेवा आइतबार सम्मलाई बन्द गरिएको तर ईमरजेन्सी सेवा सूचारु रहेकाे जानकारी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पिताम्वर ठाकुरले जानकारी गराए ।
त्यस्तै, उद्योग एक जना लगायत भद्रपुर क्षेत्रमा कार्यरत ४ जना ट्राफिक प्रहरीलाई कोरोना देखिएको छ । फोकल पर्सन जितेन्द्रकुमार झाका अनुसार संक्रमितहरू वडा नम्बर –७ का २ , ५ का १, १० का २, ६ का ३, ८ का २ जना रहेका छन् र दुई जनाको वडा खुलेको छैन । शुक्रबार मेची अस्पताल भद्रपुरको प्रयोगशालामा २८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्ये २ जना जिल्ला बाहिरका भएको फोकल पर्सन झाले बताए ।
त्यस्तै, शुक्रबार बिर्तामोडका ६ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना हुनेहरुमा ४ जना जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत ट्राफिक प्रहरी रहेका छन् भने २ जना बैंकका कर्मचारी रहेका छन् । मेचीनगरमा ५ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरूमा ३ महिला र दुई पुरुष रहेका छन् । अर्जुनधारा ६ र ११ नम्बर वडाका एक–एक जना पुरुषमा कोरोना देखिएको छ । यता गौरादह नगरपालिकाका ३४ बर्षिय पुरुषलाई कोरोना देखिएको छ भने कमल र गौरीगञ्ज गाउँपालिकाका एक–एक पुरुषमा कोरोना पुष्टि भएको छ ।