बूढीगण्डकी जनविद्युत् आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार

काठमाडौं २३ असोज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ भ्रष्टाचार भएको दावी गरेका छन् । उनले यो भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेका छन् । बिहीबार गोरखाको पालुङटार नगरपालिका–६ मा कार्यकर्तासामु उभिएर पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर मिलेर बूढीगण्डकी जनविद्युत् आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका हुन् । उनले तीनजना नेताले गरेको भ्रष्टाचारको प्रमाणसमेत दिन आफू तयार रहेको बताए ।

‘ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारे । उनीहरूले आयोजनाबाट अर्बौँ रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईको भनाइ छ । प्रधानमन्त्री र दुई पूर्व प्रधानमन्त्रीविरुद्ध भट्टराईले राजनीतिक फाइदाका लागिमात्र आरोप लगाएका हुन् त ? गम्भीर चासो र खोजीको विषय बनेको छ । सक्रिय राजनीतिककर्मी हुनका साथै अर्थ मन्त्रालय र मुलुकको कार्यकारी प्रमुखको भूमिकासमेत निर्वाह गरिसकेको व्यक्ति भएका कारण डा। भट्टराईसँग यस खालका विषयमा सूचनाको पहुँच छैन भनेर पत्याउन पनि सकिँदैन अर्कोतिर डा. भट्टराईका दावीका सम्बन्धमा कसैले पनि खण्डन गरेका छैनन् । उनीसँग अनियमितताको प्रमाण छ÷छैन भन्नेबारे कसले अनुसन्धान र छानविन गर्ने ? राष्ट्रलाई हानी हुनेगरी त्यति ठुलो भ्रष्टाचार भएको हो भने छानविन गरी दोषीलाई कारवाही कसले गर्ने ? छानविन र कारवाहीको जिम्मेवारी पाएको निकाय किन चुपचाप छ ? प्रश्नहरु धमाधम उठ्न थालेका छन् ।