पर्यटकीय सम्भावना बोकेको झापा र इलामको सीमानामा रहेको “स्वागत” झरना
झापाको सीमाना इलामको तल्लो भेग रोङ गाउँपालिका अन्तरगत पर्ने स्वागत झरना पुगेकी कञ्चना ढकालले त्यहाँ पुग्दा भएको तनाव सबै बिर्सिइन रे । महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा उनी क्रियाशील छन् । उनले भनिन्–‘नजिकै आनन्दको ठाउँ रहेछ, तनाब भएका बेला घुम्न जाँदा रिफ्रेस हुने ।’ अझ अहिलेको परिवेशमा त घुम्नका लागि अतिउपर्युक्त रहेको बताउँदै उनले थपिन्–‘कोरोना संक्रमणका कारण बास बस्दै घुम्न जाने अवस्था पनि छैन, विर्तामोडबाट नजिकै रहेको प्राकृतिक सुन्दरताले मनै फुरुङ्ग हुने ।’
विकसित मुलुकमा भएको भए उक्त झरनाबाट अरबौ आम्दानी हुने कनकाई नगरपालिका लक्ष्मीपुर निवासी शिक्षासेवी केशवप्रसाद ओझाले बताए । युरोपेली मुलुकका केही पर्यटकीय क्षेत्र समेत घुमेका ओझाले भने–‘युरोपका केही मुलुकको अवस्था र त्यस्तै ठाउँको उपयोग हेरेर आएँ, हामीकहाँ तिनका संभावनाबारे हेर्न जानेको अवस्था छैन, स्थानीय र केन्द्र सरकारले हेर्न जानेन ।’ प्रकृति प्रदत्त त्यस्ता स्थानमा आन्तरिक र बाह्य दुवैखाले पर्यटन प्रवद्र्धनको सम्भावना देखेको बताउँदै ओझाले भने –‘अझै पनि समय छ यस्ता स्थानको उचित संरक्षण र प्रवद्र्धन गरेर त्यहाँका स्थानीयको जीवनस्तर समेत उकास्न सकिन्छ ।’ झरनाको चर्चा सुनेरै घुम्न आएका सञ्चारकर्मी बिष्णु श्रेष्ठले झर्नाको सुन्दरतासंगै बाटोलाई व्यवस्थित गर्नसके पर्यटनकै माध्यमबाट मनग्यै आम्दानी लिन सकिने बताए । उनले यस क्षेत्रको बिकासका लागि स्थानीय उपभोक्ता समिति, र स्थानीय निकाय अग्रसर भएर लाग्नुपर्ने ओझाको सुझाव छ । झरनामा जानका लागि व्यवस्थित बाटो, पार्क र होटल समेत सञ्चालनको संभावना रहेको ठहर्याएका उनले भने–‘धेरै संभावना बोकेको ठाउँ समुचित उपयोगको अभाव छ, बाटो, पार्क निर्माण गरी होटल सञ्चालन गर्ने हो भने स्थानीयले मनग्य आन्दानी गर्न सक्ने संभावना देखे ।’ कोरोना भाइरस संक्रमण जोखिमका कारण लामो समय घरमा बस्दा बस्दा दिक्क लागेपछि साथीहरुसंग सोही झरना पुगेकी मोडेल मुना प्रसाईले सोचेभन्दा रमाइलो भएको बताइन् । उनले भन्,ि ‘सोचेभन्दा रमाइलो भयो ।’ यस क्षेत्रमा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान रहेकाले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सके स्थानीयको समेत जीवनस्तर माथी उकास्न सहयोग पुग्ने स्थानीयको भनाई छ । दुईपाङ्ग्रे सवारी साधनलाई गन्तव्यस्थलसम्म पु¥याउन सक्ने वातावरण निर्माण गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नसके पर्यटनको थप विकास गर्न सकिने स्थानीय अनन्त अर्यालले बताए ।
किटेनीदेखि ५ सय मिटर भित्र तल उक्त झरना रहेको छ । जसको उचाई २४५ फिट रहेको छ । उक्त उचाईबाट झरेको पानीको झर्ना हेर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।
मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिका र इलामको रोङ गाउँपालिकाको सीमानामा रहेको जोरकलशबाट लगभग ४ मिनेटको यात्रापछि किटेनी पुगिन्छ । पर्यटकको भीड बढ्न थालेसंँगै आगामी वर्षदेखि सो क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने रोङ गाउँपालिका –४ का वडाध्यक्ष सूर्य राईले बताए । अघिल्लो बर्ष सामान्य संरचना बनाएर सुरुवात गरिएता पनि पर्यटकको उल्लेखनीय उपस्थिति हुन थालेकाले आउँदो आर्थिक वर्षदेखि व्यवस्थित गर्दै लैजाने उनले बताए । झरनामा गर्मी छल्न आउनेको संख्यात्मक बृद्धिले हामीमा उत्साह थपेको छ’–राईले भने–‘पर्यटनका लागि पनि प्रमुख गन्तब्य बनेको छ, यसलाई थप व्यवस्थित गर्न पहल हुनेछ ।’
पर्यटकहरु आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको वडाध्यक्ष राईको भनाई छ । उनले प्रदेश सरकारसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । यता रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले झरनामाथिबाट पाइपमा लगेको पानीको स्रोत ब्यवस्थापन जरुरी रहेको बताए । स्वागत झरना क्षेत्रको दीर्घकालीन विकासका लागि डि।पि।आर तयार गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष शेर्माले चालु आ.व.मा त्यसको शुरुवात गर्ने बताए । उनका अनुसार यसअघि गाउँपालिकाले झरनासम्म पुग्ने कच्ची बाटो निर्माण र गोलघर निर्माण गरेको थियो भने गत आर्थिक बर्षमा प्रदेश सरकारको ४० लाख सहयोगमा शौचालय, सेल्फी पोइन्ट, बाटो, ट्रस व्रिज लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।