मजदुरहरुको स्वास्थ्य संवेदनशिलता बारे स्थानीय तहको ध्यानाकर्षण

भद्रपुर २१ असोज । झापाका मजदुर नेताहरुले मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका छन् । चिया क्षेत्रमा कार्यरत मजदुर तथा अन्य क्षेत्रमा कार्यरत मजदुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सुरक्षाका सामाग्री उपलव्ध गराउन स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संवाद समूह झापाको संयोजनमा मंगलवार झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुसंग भएको चिया मजदुरका सवालमा हालसम्मका सहमति र कार्यान्वयनको अवस्था विषयक समिक्षा वैठकमा उनीहरुले यस्तो वताएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इञ्चार्ज भूपाल सापकोटा, ट्रेड युनियन महासंघ(जिफण्ट) प्रदेश नं। १ उपाध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय अध्यक्ष सीता सापकोटा सन्ध्या, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारीले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा चिया क्षेत्रमा कार्यरत मजदुर रहेको बताउँदै चिया क्षेत्रमा कार्यरत मजदुरहरुलाई कार्यस्थलमा न्यूनतम् स्वास्थ्य सामग्री उपलव्ध गराउन स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

वैठकमा श्रमिक संघ संगठनका नेताहरुले दुई वुँदे साझा निष्कर्ष समेत निकालेका छन् । जसअनुसार, नेपाल चिया उत्पादक संघ र तीनवटा ट्रेड युनियन संघका प्रतिनिधीहरुबीच मिति २०७७ साल भदौ ३१ गतेको र यस अघिका निर्णयहरुको कार्यान्वयनका लागि नेपाल चिया उत्पादक संघ लगायत सहमति हुन नसकेका जिल्लास्थित सहकारी संस्था , साना किसान एवम् तीनका मजदुरसंग समन्वय गरी यस अघिका निर्णयहरु क्रमशः कार्यान्वयन गराउने र यसका लागि तीन वटै ट्रेड युनियन संघका प्रतिनिधीहरु वसेर समिक्षा गर्ने साझा निष्कर्षमा उल्लेख छ । त्यस्तै कोभिड –१९ का सन्दर्भमा झापामा मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै झापाका सवै स्थानीय तहका सरकारहरुले नेपाल सरकारले तोकेको न्यूनतम् मापदण्ड मजदुरहरुले कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण गराउने साझा निष्कर्षमा उल्लेख छ ।