नागरिकताको प्रतिलिपि लिनेको भिड

दमक । सरकारले प्रविधि प्रयोग गरेर स्पष्ट परिचय खुल्ने गरी नागरिकको अभिलेख राख्नका लागि शुरु गरेको राष्ट्रिय परिचय–पत्र बनाउन आवश्यक फोटो खिच्ने कार्य शुरु भएसंगै प्रशासन कार्यलयमा नागरिकताको प्रतिलिपि लिनेको भिडभाड लाग्ने गरेको छ । झापाको माइपश्चिम भुगोलका बासिन्दाको नयाँ नागरिकता जारी गर्ने र नागरिकताको प्रतिलिपि समेत उपलब्ध गराउने इलाका प्रशासन कार्याल दमकमा प्रतिलिपि नागरिकता लिन आउनेको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ ।

दैनिक २०/२५ जना सेवाग्राही नागरिकताको प्रतिलिपि लिनकै लागि कार्यालय आउने गरेको इलाका प्रशासन कार्यालय दमकका निमित्त प्रमुख तिलोचन रिमालले जानकारी दिए । नागरिकतामा टाँस भएको फोटो मधुरो भएका र सामान्य स्वभाविक किसिमका त्रुटी भएका नागरिकलाई समेत परिचय पत्रका लागि फोटो खिचाउने प्रयोजनमा अस्विकार गरिदिँदा सर्वसाधारणहरुले आफनो नागरिकताको प्रतिलिपि निकाल्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताइएको छ । निरक्षर प्रौढहरुले यस अघि कष्टसाथ बनाएको नागरिकतामा भएका त्रुटीबारे जानकारी हुन नसक्दा अहिले समस्यामा परेका हुन ।

कोरोनाका कारण गरिएको लकडाउन खुले लगत्तै परिचय पत्रका लागि फोटो खिचाउने टोली दमकका वडा वडामा बसेर काम शुरु गरेसंगै धेरै सेवाग्राहीहरु यस अघि लिएको नागरिकताको प्रतिलिपि पाउँ भन्दै सिफारिस लिएर आउने गरेका छन । राष्ट्रिय पञ्जिकरण विभागले जारी गर्ने जैविक तथा वैयत्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षणसहितको राष्ट्रिय परिचय नम्बर उल्लेख गरिएको बायोमेट्रिक स्मार्टकार्डलाई नै राष्ट्रिय परिचय पत्र भनिएको हो ।

सफ्टवेयरमा व्यक्तिको पूर्ण विवरण राखेर परिचय–पत्र वितरण गरिने भन्ने जानकारी पाएका कारण आफू पनि राष्ट्रिय परिचय पत्रका लागि वडा कार्यालयमा आएको मंगलबार दमक नगरपालिका वडा नं ६ को वडा कार्यालयमा फोटो खिचाउने तयारीमा रहेका दमकका युवा व्यवसायी भगवान बस्नेतले बताए ।