झापामा आज कोरोना बाट एकको मृत्यु

भद्रपुर १२ असोज । झापाको गौरादह नगरपालिकाका एक जना व्यवसायीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ बर्षिय पुरुषको आज दिउँसो विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्युभएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । मृतक सुनचाँदी व्यवसायी हुन् ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई गत असोज ३ गते उपचारका लागि नोबेल लगिएको थियो । स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा गत असोज ६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनको उपचारकै क्रममा मृत्यु भयो । मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो । यससंगै झापामा संक्रमणबाट मृत्युहुनेको संख्या ७ पुगेको छ ।