गौरीगंजमा खानेपानी तीनदिन देखि अवरूद्व

गौरीगन्ज, १२ असोज । गौरीगंजमा खानेपानीबाट वितरण हुँदै आएको शुद्व खानेपानी तीनदिन देखि अवरूद्व छ । गौरीगंज खानेपानीको कार्यालय अगाडीको मुल गेटमा रहेको मुख्य पाईपको ज्वाईन फुट्दा खानेपानीको वितरण अवरूद्व भएको हो । गौरीगंज क्षेत्रका करिब ४ सय उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् ।

खानेपानी वितरण तीनदिनदेखि अवरूद्व हुदाँ समेत गौरीगंज खानेपानी उपभोक्ता समितिले आधिकारी सुचना प्रकाशित गरेको छैन । जसबाट आम उपभोक्ता मारमा परेका छन । खानेपानी कार्यालयको मुल गेटमा मुख्य पाईपको ज्वाईन जडान गर्नेक्रममा ठुलो खाल्टो भएकोले समस्या आएको गौरीगंज खानेपानी उपभोक्ता समितिका सचिव गंगा राजवंशीले बताए । खानेपानीको पाईप आज बेलुका सम्म बनाईसक्ने र उपभोक्तालाई खानेपानी वितरण गर्ने योजना रहेको सचिव राजवंशीले जानकारी गराएका छन् । यसअघि पनि खानेपानी वितरणमा कुनै समस्या आए उपभोक्तालाई समितिद्वारा जानकारी अर्थात सुचना जारी गर्ने गरेको देखिदैन । गौरीगंज खानेपानी उपभोक्ता समितिका सचिव गंगा राजवंशीले समितिसंग उपभोक्ता सबैको फोन नम्बर रेकर्ड भए पनि सुचना गर्न नसकेको स्विकार्दै अब देखि यस विषयमा ध्यान दिने बताए ।

पिउने पानीको व्यवस्थापनको अन्य विकल्प नराहेको गौरीगंजका धेरैजसो सरकारी कार्यालयहरू गौरीगंज खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी कै भरमा छन् । तीनदिन देखि खानेपानी अवरूद्व हुदाँ सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीसहित कर्मचारीहरूलाई पनि समस्या भएको छ । पिउने पानी त कता हो कता , कार्यालयहरूमा रहेको बाथरूप र ट्वाईलेटमा समेत दुईदिनदेखि पानी छैन। सरकारी कार्यालयका एक कर्मचारीले भने, ‘ कहिले सम्म यो समस्या रहने हो थाहा छैन ।’