कारागारमा कोभिड १९ फैलन नदिन अधिकारवादीको आग्रह
झापा, ११ असोज । झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने नेपाल बार एशोसिएशन र मानवअधिकार तथा जनसरोकार समितिल बताएको छ ।
केहि दिनअघि जिल्ला कारागारमा १७ जनाको स्वाव संकलन गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएपछि एशोसिएशन र मानव अधिकार तथा जन सरोकार समितिले गम्भिर चासो राख्दै विज्ञप्ति प्रकाशित गरेर सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
झापा कारागारका १० जना कैदीबन्दी र २ जना सुरक्षा प्रशासनका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।
नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव भिम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापा वार संवैधानिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील रही आएको स्मरण गराएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को प्रभाव अत्याधिक रूपमा नेपालमा बढिरहेको वर्तमान परिप्रेक्ष्यमा झापा कारागारका १० जना कैदीबन्दीमा कोरोना संक्रमित पुष्टि भएपछि बार इकाइ र मानवअधिकार तथा जन सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
कारागारमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य सम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदी बन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । संक्रमितलाई आवश्यक्ता अनुसार क्वारेन्टिन, आइसोलेशन तथा अन्य सुरक्षात्मक उपायहरूको व्यवस्थापन गर्न पनि सरकारसंग माग गरिएको छ ।
कैदी बन्दीहरुको बाच्न पाउने नैसर्गिक हक समेतको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउन विज्ञप्ति मार्फत कारागार प्रशासनसंग झापा वारले माग गरेको छ ।