गौरीगंज गाउँपालिकाको सातौ विशेष गाउँसभामा

गौरीगंज, ११ असोज । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विगतका कमीकमजोरीलाई सुधार गरेर झापाका १५ वटै स्थानियतह मध्ये गौरीगंजलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् । गौरीगंज गाउँपालिकाको सातौ विशेष गाउँसभामा अध्यक्ष श्रेष्ठले धेरै कमीकमजोरी सुधार गरेर गौरीगंज गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्नु पर्नेमा जोड दिएका हुन् । गाउँपालिकाको सातौ गाउँ सभाका अध्यक्षता समेत गरेका अध्यक्ष श्रेष्ठले ३ वर्ष अघिका योजनाहरूको बजेट दायित्व सार्दै आएकोमा आफुलाई दुःख लागेको बताएका थिए । उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेको यथार्त सबैका नछुपेको बताउदै अध्यक्ष श्रेष्ठले शाखा कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपति जनाएका थिए । अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने “ सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ ।”

गाउँपालिकाको सातौ विशेष गाउँसभामा सहभागी सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गाउँसभामा सहभागी सबैले गाउँसभामा ध्यान पुर्वक उठेका सवाल र विषय सुन्नु पर्ने बताएका थिए । गाउँसभा सकुनञ्जेल गाउँसभा छोडेर गए ठुला दुर्घटना निम्तिन सक्ने बताउदै उपाध्यक्ष थापाले अमेरिकमा जहाजका यात्रुहरूले पाईलटको सुचना ध्यान पुर्वक नसुन्दा विमान दुर्घटना भएको उदाहरण प्रस्तुत गर्दै त्यस्तै दुर्घटना गाउँसभामा हुन सक्ने संकेत गरेबा थिए । कार्यवालिका सदस्य रिता तामाङ्ले अघिल्ला वर्षको योजनाहरू हाल सम्म पनि नसकिएको बताएका थिए । योजनाहरू समयमै नसकिएकोले दायित्व सारेर मात्र समस्याको समाधान नहुने उनले बताए ।

प्रशासकिय अधिकृत राजु दाहालले १५ वटै स्थानिय तहहरूमध्ये उत्कृष्ट गाउँपालिकाको रूपमा विकास गर्न सबै जनप्रतिनिधिहरूको प्रतिवद्वता आएकोमा आफ्नो पनि पुर्णरूपमा साथ सहयोग रहने बताएका थिए । उपभोक्ता समितिको वेरूजु र योजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत दाहालको जोड थियो ।

वार्ड नं। १ का अध्यक्ष कार्तिकलाल राजवंशी छैठौं गाउँसभामा निर्णय भएका योजना र कार्यक्रमहरू निर्णय पुस्तिकामा नआएको र सम्बोधन नभएकोमा आपति जनाएका थिए । गौरीगंज गाउँपालिकाको उन्नति र प्रगतिप्रति सबै लाग्नु पर्ने बताउँदै वडा अध्यक्ष राजवंशीले गौरीगंज गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका बनाउन सबै लाग्नु पर्ने बताएका थिए । वार्ड नं। ३ का अध्यक्ष मखना महतोले छैठो गाउँसभाबाट पारित नीति तथा कार्यक्रमहरू लागू नगरेकोप्रति आपति जनाउदै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अन्य जनप्रतिनिधिहरूलाई गुम्राहमा राखेको अरोप लगाए । वडा सदस्य उदिमकुमार राईले ७ दिनअघि कार्यसुचीसहितको गाउँसभाको जानकारी दिनुपर्ने बताउदै त्यस्तो नगरेकोमा हतारहतारमा गाउँसभा बोलाईनु नियमसंगत नरहेको बताएका थिए ।

गाउँपालिकाका अधिकृत विरेन्द्र खड्काले सरकारले गरेको कर्मचारीहरूको कार्यविभाजन अनुरूप गाउँपालिकाले नगरेकोमा गुनासो पोखेका थिए ।