चन्द्रगढीमा तीन दिन पछाडि बजार बन्द
भद्रपुर, ११ असोज । झापा सदरमुकाम स्थित चन्द्रगढी बजारमा पहिलो पटक समुदाय स्तरमा कोराना संक्रमण पुष्टि भए पछि सक्रमित पहिचान गर्न नगर सरकारसित स्थानीयले गरेको अनुरोध तीन दिन पछाडि सुनुवाई भएको छ ।
असोज ८ गते व्यापारीलाई कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरी सो क्षेत्रमा निषेधाज्ञा जारी गर्न स्थानीयले नगर सरकारसित पटक पटक अनुरोध गरेपनि सुनुवाई भएको थिएन । आज (आइतवार) नगरपालिकाले कोरोना संक्रमण आशंका गरिएको चन्द्रगढीको लेखनाथ चौक पूर्व बजारको मध्य विन्दुदेखि मन्दिर दक्षिण नविल बैंकसम्म आसपासका पसलहरु वन्द गर्ने र स्वावको परीक्षण रिपोर्ट आए पछि थप निर्णय हुने १० नं. वडा अध्यक्ष टेकबहादुर खड्का (काजी) ले जानकारी दिए ।
यसै बीच कोरोना संक्रमण आशंका गरेर स्वाव लिइएका चन्द्रगढीका अधिकांश व्यापारीहरु खुल्लाम–खुल्ला बजार क्षेत्रमा घुमिरहेको पाइएको छ । नियम अनुसार स्वावको रिर्पोट नआएसम्म आसपासका संक्रमण आशंकित व्यक्तिहरु घुम्न पाउने छैन ।