फुलबासा खोलामा निर्माण हुने पुलको शिलान्यास

भद्रपुर ५ असोज । झापाको मेचीनगर–१४ र भद्रपुर–९ जोड्ने फुलबासा खोलामा पुल शिलान्यास भएको छ । आज एक विशेष कार्यक्रमका बीच झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ), क्षेत्र नंं. १ (ख) प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी र क्षेत्र नं. १ (क) प्रदेश सांसद् श्रीप्रसाद मैनाली लगायतले पुलको शिलान्यास गर्नुभएको हो ।

फुलबासा खोलामा पुल निर्माण भएपछि दुवै नगरबासी लाभान्वित हुने भएका छन् । प्रदेश नं. १ सरकारको लगानीमा बन्न लागेको यो पुल निर्माणमा संघीय सांसद् कार्की, प्रदेश सांसदद्वय बुडाथोकी र मैनालीको विशेष पहल गर्नुभएको छ । शिलान्यास कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, मेचीनगर उपप्रमुख मिना उप्रेती पोखरेल, मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेल, भद्रपुर–९ वडाका कार्यवाहक अध्यक्ष राम दाहाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ सरकारको ७ करोड ११ लाख ९९ हजार ६५३ रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई ५० मिटर र चौडाइ ६ मिटर रहेको छ । २०७७ असार ८ गते ठेक्का लागेको पुलको २०७९ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । पुल निर्माणको ठेक्का मृत संजिवनी÷ श्री पाथिभरा÷ झापाली जे.भीले लिएको छ ।