विर्तामोड इस्टुले नगर शिक्षा समितिलाई ज्ञापनपत्र बुझायो
भद्रपुर, ५ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले शिक्षक कर्मचारीका समस्या समाधानका लागि कानुनी पहल गरिदिन अनुरोध गर्दै नगर शिक्षा समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
इस्टु विर्तामोड नगर समिति अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको युनियनको टोलीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले ६ महिनायता तलवबिहिन हुँदा समेत विद्यालय सञ्चालकले जिम्मेवारी बोध नगरेकाले कानुनी परिधिमा ल्याएर न्याय दिन माग राख्दै नगर शिक्षा समितिलाई ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष ढुंगाना र सचिव सि एम खरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ—विर्तामोड नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनु पर्ने पारिश्रमिक रोकेर रमिता देखाइ रहेका छन् । प्याब्सन एन प्याब्सनको नाममा २०७७ बैशाखयताको तलव नदिने अडान राखेर कानुन विपरितका कार्यप्रति संस्थागत विद्यालय शिक्षक युनियन विर्तामोड नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक समेत रोकेर बाहना बाजी गर्नु श्रमप्रतिको अपमान पनि हो । संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव रोकेर विद्यालय सञ्चालकहरूले बौद्धिक श्रमिकको बाच्न पाउँने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहर गर्दछौं । वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति हामी खेद प्रकट गर्दछौं ।
हामी राज्यको नियम कानुनको कार्यान्वयन होस् भन्ने चाहन्छौ । त्यसैकारण नगर सरकारसित रहेको नियमनको जिम्मेवारी र अधिकार प्रयोग गरी शिक्षक कर्मचारीको हालसम्मको तलव दिने वातावरण तयार गरिदिनुहोस् । अशोजदेखि सञ्चालन गरिने भनिएका कक्षा सञ्चालन गर्नु पूर्व अगाडिका महिनाका सवै पारिश्रमिक भुक्तानी हुने वातावरण तयार गरिदिन अनुरोध गर्दछौं । यदि नगर सरकारले शिक्षक कर्मचारीका मसस्या समाधानका लागि पहल नगरे शान्तिपूर्ण रहेको आन्दोलनले अर्कै स्वरूप ग्रहण गर्न सक्ने जानकारी समेत गराउँदै तत्काल समस्या समाधान गरिदिन अनुरोध छ भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर शिक्षा समिति संयोजक तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रादेवी महतारा प्रसाईले बिहिवार बस्ने नगर शिक्षा समितिको बैठकमार्फत शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी निर्णयमा पुग्ने वचन दिएकी छिन् ।