गौरादह नगरपालिकामा राष्ट्रिय संविधान दिवस
गौरादह, ३ असोज । गौरादह नगरपालिकाले कार्यालय परिषरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय संविधान दिवस मनाएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिएको दिनलाई राष्ट्रिय संविधान दिवसका रुपमा यो दिवस मनाइदै आएको छ ।
संविधान जारी भएको दिनले राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति, बहुभाषी र समुदायबीच एकता र सद्भाव कायम गर्नुका साथै राष्ट्रको हितमा सुशासन कायम गर्न र समतामूलक समाजको निर्माण गर्न संविधान सफल भएको गौरादह नगरपालिकाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष रोहित कुमार शाहले बताउनुभयो । ५ औं संविधान दिवस २०७७ को अवसरमा आयोजित राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । सो अवसरमा नगर प्रमुख शाहले राष्ट्रिय झण्डा फहराउनु भएको थियो । यस्तै, नगर प्रमुख शाहले नेपाली जनताको दशकौं लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै यसको जगेर्ना र समृद्धितर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो । सो अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोक्तर प्रगतिको कामना समेत गर्नुभयो । यस अवसरमा ज्ञात, अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुले राष्ट्रको लागि गरेका त्याग र बलिदानको बारेमा सम्झना समेत गरिएको थियो । उक्त अवसरमा आज र भोली घर घरमा दिप प्रज्वलन गरि यो दिवस मनाउन सबैमा अनुरोध समेत गरिएको छ ।
सोही अवसरमा गौरादह नगर उप प्रमुख गीता भेट्वालले शुभकामना मन्तव्य राख्नुहुँदै अहिले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरु शहिदहरुको त्याग र बलिदान नै हो भन्दै, सबै समुदायका धर्म, संस्कृति, भाषा, रहनसहनहरुको हामीले संरक्षण गर्दै सम्मान गर्दै अझ मजबुत पार्नुपर्ने बताउनुभयो सोही अवसरमा गौरादह(४ का वडाध्यक्ष मणिन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरपालिकाका प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन, ट्राफीक प्रहरी लगायतको सहभागिता रहेको थियो ।