भ्रामक समाचारप्रति ताजपुरिया संस्थाको आपत्ति
दमक, ३ असोज । पूर्वका प्रकृतिपूजक आदिवासी ताजपुरियाका बारेमा झापा,दमकबाट प्रकाशित एक अखबारको विषयवस्तु प्रति जातिय संस्थाले आपत्ति जनाएका छन् । ताजपुरिया जातिको सामाजिक संस्था ताजपुरिया समाज कल्याण परिषद कमल गाँउ समितिले आज एक अखबारमा ताजपुरिया जातिका बारेमा प्रकाशित विषयवस्तुले सिंगो जातिमाथि आघात पुरयाँएको भन्दै आपत्ति जनाएको हो ।
परिषदका अध्यक्ष चन्द्र प्रसाद ताजपुरिया र सचिव तीर्थ कुमार ताजपुरियाले आज संयुक्त विज्ञप्ति जारी गरि अखबारमा मधुसुदन पाण्डेयद्धारा ताजपुरिया जातिका बारेमा लेखिएको त्यस सामाग्रीले आफनो धर्म ,संस्कृति माथिनै आक्रमण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा समाचार तथा कुनै विचार प्रकाशन गर्दा जाति,समुदायको भावना माथि चोट पुर्याउने कार्य कसैले गर्न नहुने भन्दै प्रकाशित समाचार प्रति संस्थागत रुपमा खण्डन गरिएको जनाएका छन् ।
समाचारमा ताजपुरिया जातिले आफना धार्मिक संस्कार तथा कर्मकाण्डमा जाँडरक्सीको प्रयोग अनिवार्य भएको,जनगणनामा छुट्ठै जनसंख्या नखुलाईने जाति भएको भनेर उल्लेख छ । त्यस्तै, ताजपुरिया जातिका महिलाले नाक छेड्ने चलन नभएको उल्लेख गरेर ताजपुरिया जातिको परिचय भनेर खुलाइएको छ । परिषदले ताजपुरिया जातिको कुनै पनि कर्मकाण्डमा जाँडरक्सीको प्रयोग हुदैन भने जनगणना लगायतका अन्य पहिचानमूलक विवरणमा स्पष्ट धर्ममा प्रकृतिपूजक भनेर उल्लेख गरिआएको भन्दै त्यस्ता भ्रमित समाचारको कुनै सत्यता नभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।