डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । यद्यपि भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ । तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । एक हप्तापछि फेरि पिसिआर परीक्षण गरिने छ ।

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो । अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सक टोलीले महामन्त्री कोइरालाको उपचार गरेको थियो ।