गौरादह नपाद्वारा स्व. धनवीर राजवंशीको परिवारलाई राहत
गौरादह, २९ भदौ । गौरादह नगरपालिकाले स्व। धनवीर राजवंशीको परिवारलाई ५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह र उपप्रमुख गिता भेटवालले आज स्व। राजवंशीकी धर्म पत्नी पार्वती राजवंशीलाई संयुक्तरूपमा उत्त रकम हस्तान्तरण गरेका हुन् । स्व. राजवंशीकी पत्नी पार्वती राजवंशीलाई छोराहरूको उपस्थितिमा राहत स्वरूप ५ लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
गौरादह नगरपालिका वार्ड नं८ भुडिसिमल बस्ने बर्ष अन्दाजी ५८ को मृतक धनवीर राजवंशी गत असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएका थिए । तर पटक पटक भुक्तानीका लागि नगरपालिका गए पनि गत असोज १२ गते पनि भुक्तानी नपाए पछि उनी नगरपालिका मुल गेटमै बेहोस भई उपचार गर्न लाने क्रममा मृत्यु भएको थियो । मृत्यु भएपश्चात नगरपालिकामा स्थानियहरूले क्षतिपूर्तिसहित ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए । गौरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएको तनाव साम्य भएको थियो ।
सामाजिक कार्य गर्दै निज राजवंशीको मृत्यु भएको जनाउदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिने समेत निर्णय गरेको थियो । नगरपालिकाले नगरपालिकाको कामकारबाहीको अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीको छानवीन गरि कानुनी कार्वाहिका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेको थियो ।
उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि मृतक राजवंशीको लास नगरपालिका परिसरमा राखी स्थानीयहरूले प्रदर्शन गरेका थिए । कार्यपालिका वैठक बसी पिडितलाई राहत स्वरूप २ लाख रूपैयाँ दिने र ईन्जिनियर सचिन क्षेत्रीलाई तत्काल निलम्बन गरि छानवीन समिति गठन गर्ने निर्णय गरेपनि पीडित पक्षले नमानेपछि स्थिति झन तनावपूर्ण भएको थियो । कार्यालयको भझ्यालको सिसा, साईन बोर्ड तोडफोड गरिएको थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०७५।७६ को वजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएको थियो । उत्त टहरा निर्माण गर्न मृतक राजवंशीको अध्यक्षतामा टहरा निर्माण समिति गठन भएको थियो । असार महिनाको २५ गते वार्ड सिफारिस, अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदन सहित नगरपालिकाको प्राविधिक शाखामा फाइल पेश गरेका थिए ।