किरात राई विद्यार्थी संघको १७ लाख बढी सहयोग
इटहरी, २९ भदौ । गोडाको हड्डी टुक्रिएर झर्ने रोग (ओष्टि ओमाइलिटिस ) बाट पीडित पारुहाङ राईलाई किरात राई विद्यार्थी संघले १७ लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । संघले सञ्चालन गरेको पारुहाङ राई बचाउ अभियानमा संकलन भएको १७ लाख ३२ हजार सात सय २३ रूपैयाँ रकम आज आईतबार हस्तान्तरण गरिएको हो । भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रेका पारुहाङ राई केही समय अगाडिदेखि ओष्टि ओमाइलिटिस अर्थात गोडाको हड्डी टुक्रिएर झर्ने रोगले पीडित रहेका छन् । यो रोग जटिल र दुर्बल रोग रहेको पीडितको भनाई रहेको छ ।
बुवा–आमाले सानैमा छाडेर गएका १४ बर्षीय पारुहाङ हाल आफन्तकोमा बस्दै आएका छन् । तत्कालका लागि भने पारूहाङ राई बचाउ अभियानमा आर्थिक रकम संकलन कार्य स्थगन गरिएको हो । त्यस अवसरमा विरामीको उपचारमा सहयोग पुरयाँउने दाताहरूको नामवली सार्वजनिक गर्दै अभियान सम्पन्न गरिएको संघका सचिव अशोक राईले बताए । अभियान सञ्चालन गरेको दुई महिना अवधिमा एक सय ७३ जना भन्दा बढी दाताबाट सो रकम संकलन गरिएको संघका अध्यक्ष रामचन्द्र राईले बताए ।
सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव सुवासचन्द्र राईले विद्यार्थी संघले सञ्चालन गरेको यस कार्य प्रशंसनीय रहेको बताए । त्यस अवसरमा केन्द्रीय सदस्यद्वय कमला राई, बिमला राई, सामाजिक अभियन्ता शिव वान्तावा राई ,किरात राई यायोक्खा पक्कली भासिका अध्यक्ष जेआर चाम्लिङ राई, इटहरी वडा ५, ७ का सचिव जेवि किरात, किरात राई सुम्निमा संघका इटहरी नगर अध्यक्ष बन्दना राई, राम कुमारी राई, माया राई लगायतको उपस्थिति रहेको थियो । पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको अध्यक्ष राईले बताए ।