एग्रोभेट व्यवसायको नाममा लागुऔषध बेच्ने पक्राउ
झापा, २७ भदौ । एग्रो भेट व्यवसायका नाममा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको व्यपार गर्ने व्यापारीलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको विर्तामोड नगरपालिका–३ मा गोपाल एग्रोभेटको नाममा लागुऔषध ब्राउनसुगर कारोवार गर्ने गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही थालेको हो ।
गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे लागुऔषध व्युरो झापा तथा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।