सडकभर भीड, प्रहरी रमिते, भारू बेच्न तानातान

भद्रपुर । झापामा समुदाय स्तरमा कोभिड १९ संक्रमण सुरू भएयता महामारी नियन्त्रणका लागि सरकारका विभिन्न तहले प्रहरी प्रशासनलाई सीमामा कडाइदेखि हाट, बजार तथा चौक चौकमा हुने भीड नियन्त्रणको जिम्मेवारी दिएका छन् ।

प्रदेश १ को भारतबाट नेपाल आउने पहिलो प्रवेशद्वार काँकडभिट्टा नाकामा भारतीय सीमा क्षेत्रसम्म सहज आवागमन तथा चौक चौकमा खुलेआम भारू तथा नेरूको सटही हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीकै अगाडि दर्जनभन्दा बढी महिला र केही पुरुष सडकमा नै बसेर नेपालबाट भारत जाने भारतीय नागरिक र विषेश कामले पानीटङ्की चेकपोष्टसम्म जाने नेपालीहरूलाई तानातान गरेर रकम साट्ने गरेको पाइएको हो । कानुन अनुसार सडकमा बसेर विना इजाजत विदेशी मुद्रा खरिद गर्ने काम अबैध भए पनि प्रहरी प्रशासनले कारवाही गर्न नसकेको दृष्यले देखाउथ्यो ।

नेपाल तर्फबाट निर्माणाधीन मेची पुल जोड्ने ६ लेण्ड सडकको छेउमा पुगेका जो सुकै नागरिकलाई भारू नेरू कारोवारीहरूले घेराहालेर खरिद बिक्री गर्दै आएका छन् । यस्ता नियम विपरित कारोवार गर्ने कारोवारीको गतिविधि प्रत्यक्ष रूपमा प्रहरीले देखे पनि कुनै अवरोध गर्ने गरेको पाइएन ।

नेपालमै रहेका भारतीय तथा भारतमा काम गर्ने नेपालीहरू पानीट्यंकी नाकाबाट भारत प्रवेश गर्ने गरेका छन् । नेपाली कामदारले भारत जाँदा पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि नेपालका विभिन्न स्थानबाट काँकडभिट्टा नाकाको प्रयोग गरी भारत जान पाउने व्यवस्था रहेको भए पनि भारतीयको सवालमा उनीहरूको देशको परिचय पत्र भए भारत जान पाउने व्यवस्था छ । यस्ता व्यक्तिहरूले भारतीय रुपैयाँ लिने गरेका छन् । सो स्थानमा सामान्य स्वास्थ्य मापदण्ड समेत नअपनाइ पैसाको कारोवार गर्ने गरेको पाइएको छ । स्वस्थ्य सावधानी बिर्सिएर कारोवारीहरू रकमको लेनदेनमा मात्र व्यस्त देखिने गरेका छन् ।

दैनिक सय भन्दा बढी मानिसको आवतजावत हुने गरेको चेकजाँचमा मेचीपुलमा खटिएका सुरक्षाकर्मी असइ यादव सुवेदीले बताए । औषधि लिन मेची पुलबाट भारतीय चेकपोष्टसम्म जाने र भारतबाट सामान भारतको पोष्टसम्म आउने गरेकोले कुनै पनि एउटै व्यक्ति वारपार गर्न नपाइने सुवेदीको भनाइ छ ।

विषेश गरी नेपालीका लागि औषधि खरिद गर्न भारू रकम चाहिने भएकोले भिडभाड बढेको ट्राभल्स सङघ झापाका अध्यक्ष निरबहादुर कार्कीले बताए । नियम विपरीत भए पनि व्यवहारिकतामा यस्तो काम हुदै आएको उनले जनाए । कार्कीले भिडभाडका कारण कोरोना सङ्क्रमण हुनसक्ने भन्दै सचेत भएर कारोवार गर्नु पर्ने प्रष्ट्याउँछन्।

वर्षौ यताबाट झोले व्यापारीका कारण सटही काउण्टर मारमा परेको व्यवसायी तथा सटही काउण्टर व्यवसायी सङ्घका पूर्व अध्यक्ष मनोज पौडेलले बताए । प्रहरी प्रशासन, स्थानीय तह, वाणिज्य संघ, नेपाल बैङ्क लगायत निकायलाई पटक–पटक जानकारी गराउदा समेत नियन्त्रण नभएको उनको भनाइ छ । सडकमा नै रकम साट्ने भएपछि काउण्टरमा ग्रहाक नआएको उनले बताए । वर्षौ देखीको यो धन्दा लक डाउनको समयमा झनै बढेर गएको उनले बताए । गाडी रोकिएको स्थानमा नै रकम साट्न पाएपछि ग्राहक काउण्टरसम्म नआएको उनले बताए ।

कानून विपरीत भएपनि झोलामा बोकेर रकम साट्नु कुन अपराध अन्र्तगतको कसुर गरेको भन्ने यकिन नभएको बताउँदै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले अबैध काम रोक्ने बताउँछन् । सडकमा रहेका त्यस्ता गतिविधि हुननदिन तत्काल प्रहरी खटाएर कार्यालयमा उपस्थित गराइ कारोवारीलाई क्वारेन्टिन पठाउने डिएसपी पोखरेलको आश्वासन छ ।

नेपालको प्रचलित कानुन अनुसार इजाजतविना लाखौं भारतीय रूपैया झोलामा बोकेर खरिद बिक्री गर्नु कानुन विपरितको काम भए पनि सरकारी संयन्त्रले नियन्त्रण गर्न नसकेको स्थानीयको भनाइ छ ।