नेपालमा आज एक हजार ४१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज एक हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा ३४९ महिला र ६९२ पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४०४ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ८६६ जना र होम आइसोलेसनमा ८ हजार ४ रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज देशभरका १२ हजार ४७३ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ५७ हजार ९६३ पीसीआर परीक्षण भएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५६६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर कुल संक्रमितको ६० प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप ९ जनाको मृत्यु भएको छ । जसामा तीन जना महिला र छ जना पुरुष रहेका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, ललितपुर, काठमाडौं, चितवन, रुपन्देही रहेका छन् । प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, ताप्लेजुंग, मुगु, डोल्पा, मुस्ताङ र हुम्ला गरेर छ जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।