कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागि परेको छ : गजमेर
अर्जुनधारा । प्रदेश नम्बर १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागि परेको बताएकी छिन् । सरकारले मात्र नभई नागरिक स्तरबाट पनि कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको उनले बताइन् । झापाको अर्जुनधारा नगरपालिका १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको ३ महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिम समापन कार्यक्रममा मन्त्री गजमेरले सो कुरा बताएकी हुन् ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका २७ जना छोराछोरीले तालिम लिएको वनका अध्यक्ष चक्र तामाङले जानकारी दिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरे, १ नं. वडाका अध्यक्ष गजाधर खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । मोर्डन पब्लिक हस्पिटल प्रा.लि भद्रपुरको प्राबिधिक सहयोग तथा साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।