दमक नगरपालिकामा समुदायमा कोरोना संक्रमण
दमक । झापाको दमक नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिने क्रम जारी रहेको छ । दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए । परीक्षणका लागि पठाईएको १ सय १६ जनाको नमुना स्वाब मध्ये नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका संगै दमकमा कुल संक्रमितको संख्या १ सय ६ पुगेको छ ।
सचिवका अनुसार दमकमा स्वाब परीक्षण गरिएकाहरुमध्ये अहिलेसम्म ८ देखि १० प्रतिशतमा कोरोना सक्रमण भएको पाईएको छ । संक्रमण देखिएकाहरुमा कहाँबाट संक्रमण भयो भन्ने पत्ता नलाग्दा दमकमा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ । नगरपालिकाले संक्रमण नियन्त्रणका लागि निषेधज्ञा गरेको भए पनि त्यसको प्रभावकारिता खासै हुन नसकेको भनेर नागरिक स्तरबाट आलोचना हुदै आएको छ । १२ वजेसम्म पसल खुलेपनि त्यसलाई अटेर गरि व्यापार, व्यवसाय गरिआएको पाईएको छ ।
दमकमा संक्रमण तीव्र रुपमा फैलिदै गएपछि जोखिम थप बढ्न सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न पछिल्ला एक साता भने खुकुलो गरि भदौ २० गतेसम्म निषेधाज्ञा गरिएको छ । निषेधज्ञा भनिएपनि सवारी गुड्नुका साथै मानिसको आउजाउ निर्वाध रुपमा चल्दै आएको पाईएको छ ।