कचनकवलमा काँग्रेस र नेकपाको आन्दोलन

झापा । झापाको कचनकवल गाउँपालिकामा चार वडाअध्यक्ष सहित १४ जना असन्तुष्ट समूहले गाउँपालिकामा लगाएको तालाबन्दी पालिका अध्यक्षको निर्देशनमा फुटाएको बिरुद्धमा कोण सभा गरेका छन् । नेकपा र काँङ्ग्रेस समर्थक जनप्रतिनिधिहरुले लगाएको ताला करिब दुई घण्टा बित्न नपाउँदै पालिका अध्यक्ष अञ्जरा आलमको निर्देशनमा स्थानीयले फुटाईदिएको उनीहरुको दाबी छ । स्थानीय स्वायत्त शासन विपरित वडा कार्यालयको अधिकार कटौती गर्ने गरी बजेट सिलिङ घटाएको, सङ्कटको समयमा करको भार बढाएर नागरिकमाथि ज्यादती गरेको लगायत माग राखेर गाउँपालिकामा बिहीबार तालाबन्दी गरेका थिए ।

तालाबन्दी गरेको भोली पल्ट वडाअध्यक्षहरु मेख बहादुर भट्टराइ,प्रमानन्द राजवंशी,कुबहादरु कार्की र भरत राजवंशीले हस्ताक्षरसहित गाउँपालिका विरुद्ध ४ बुद्दे कार्यक्रमहरु सार्वजनिक गरेका थिए । वडा कार्यलयबाट लिइने सम्पूर्ण कर तथा राजस्व निःशुल्क गर्ने,गाउँपालिकाको जनविरोधी गतिविधी व्यानर वनाएर वडा कार्यालयमा राख्ने,वडा कार्यालयमा जनताको काम गर्दा वडा अध्यक्ष र सदस्यहरुले विरोधस्वरुप हातमा कालो पट्टी बाध्ने र पालिकाको भ्रष्टचार ,बेतिथी र निरङ्कुसताको जनस्तरमा प्रचार – प्रसार गर्ने कार्यक्रम सार्वजनिक गरिएको वडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराइले बताए ।

स्थानीय सत्ताको दम्भ र अहङकारले वार्ता सम्वाद र सहकार्यभन्दा बल प्रयोग गरी जनभावनालाइ उपहास गर्ने काममा स्थानीय सत्ताको नेतृत्व गरेको राप्रपाका जिम्मेवार कार्यकर्ताबाट ताला तोडिएकोमा गम्भिर ध्यानार्काण भएको उनले जनाए । पालिका अध्यक्ष अञ्जारा आलमको निर्देशनमा यस्तो काम भएको उनले दाबी गरे । वहुमतको दम्भका कारण जनप्रतिनिधीहरुले जनताका जायज मागहरु कार्यपालिका तथा गाउँपरिषदमा राख्दा सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख गरिएको वडा नम्बर ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताए ।

पालिकाले सुनुवाइ नगरेपछि आइतबार गाउँपालिका अगाडि ध्यानाकर्षणसहितको कोण सभा गरि सोमबारबाट असहयोगका कार्यक्रम लागू गरिने उनले जनाए । गाउँपालिकाले सिफारिस दस्तुर, राजश्व लगायतमा नागरिकलाई चर्को भार लगाउँदै कर बृद्धि गरेको, वडाबाट हुने काम वडाकै सिफारिसमा हुनु पर्नेमा गाउँपालिकाले अनावश्यक हस्तक्षेप गरेको, चालु आर्थिक बर्षको बजेट बिनियोजन गर्दा वडामा बजेट सिलिङ कम दिएको लगायतका माग राख्दै आन्दोलित भएको अर्का वडाअध्यक्ष प्रमानन्द राजवंशीले बताए ।

गाउँपालिका अध्यक्ष अञ्जरा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको, करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णय विपरित तीन गुणासम्म कर बढाएको बिरोधमा निर्णय सच्याउन माग राखेर साउन २९ मा ज्ञापन पत्र बुझाएका थिए । २०७७ जेठ १८ गते गाउँपालिकाले ६० लाखका दरले बजेट पठाउने भन्दै हरेक वडा कार्यालयलाई सोही अनुसार टोल विकास मार्फत योजना छनौट गर्न पत्राचार गरेको भन्दै वडाबाट ६० लाखका योजना गाउँपालिकामा प्रस्तुत् गरिसकेपछि एकाएक १० लाख मात्र दिने परिषद बैठकमा पारित गरेको प्रति नेपाली काँङ्ग्रेस र नेकपाबाट विजयी जन प्रतिनिधिहरूले आपत्ति उठाएका थिए । विगत वर्षभन्दा ३ गुणा बढीसम्म करको दर समेत बढाएको उनीहरुको ठम्याइ छ ।

असन्तुष्ट पक्षले ६० लाखको सिलिङ मागरेकोमा कोभिडका कारण १५ लाख छुट्टयाएपछि कुरो नमिलेको पालिका अध्यक्ष आलमले बताए । सोमबार उहाँहरुलाइ छलफलका लागि बोलाइएकोले सहमतिको प्रयास गरिने उनको भनाइ छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि असार ३१ गते ५३ करोड ८९ लाख ६० हजार एक सय रुपैयाँको बजेट बहुतले पारित गरिसकेको छ ।

७ वटा वडा रहेको कचनकवलमा दुइजना मानेनित सदस्य गरी ३८ जना रहेका छन् । ४ र ७ नम्वर वडाध्यक्ष सहित ८ जना नेपाली काँङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्ष सहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् भने बाँकी राप्रपाका रहेका छन् । काँङ्ग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँ सभाले बजेट पारित गरेको थियो ।