राप्रपामा चुनाव चिन्ह विवाद

काठमाडौं । गत २८ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ ।

राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा समूहका दीपक बोहोरा, बुद्धिमान तामाङ्ग र राजेन्द्र लिङ्देन रहेका छन् भने राणा–लोहनी समूहबाट विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना छन् । कार्यदलले चुनाव चिन्ह बाहेकका विषयमा मोटामोटी खाका तयार पारेर निर्णय गर्ने अधिकार तीन अध्यक्ष लाई नै दिइएको छ ।

कार्यदलले तयार पारेको प्रतिवेदन र चुनाव चिन्हका विषयमा अध्यक्षत्रय थापा, राणा, लोहनीबीच शुक्रबार राणाको निवासमा छलफल भएको थियो । छलफलमा पार्टी एकता हुँदादेखि विवाद देखिएको निर्वाचन चिन्हका विषयमा सहमति हुन सकेन । राप्रपामा कमल थापा समूह जसरी पनि गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने अडानमा छ भने राणा–लोहनी समूह हलोको पक्षमा रहेको छ ।

पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्ह विवाद फेरि बल्झिएको हो ।