दमक र कमल गाउँ पालिकामा निषेधाज्ञा जारी
भद्रपुर । झापाको दमक नगरपालिका र कमल गाउँ पालिकामा जिल्ला प्रशासन कार्यालय झापाले आज १४ भाद्र मध्यराती १२ बजेदेखि लागू हुने गरी भाद्र २० सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीद्धारा आज जारी सूचनामा उल्लेख भए अनुसार आज मध्यराती देखि सो निषेधाज्ञा लागू हुनेछ ।
निषेधाज्ञा जारी भएपछि दमक नगर क्षेत्र र कमल गाउँपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका काममा बाहिर हिंडडुल गर्न , सार्वजनिक तथा निजी प्रयोजनका सवारी साधनहरु चलाउन, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लाग्नेछ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिँदै गएका कारण प्रशासनले संक्रमक रोग नियन्त्रण सम्बन्धिको कानुनी अधिकार सदुपयोग गर्दै निषेधाज्ञा जारी गरिएको जारी सूचनामा उल्लेख छ ।