नेपालमा आज ९२७ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा ३३४ महिला र ५९३ पुरुष रहेका छन् ।उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६९ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला गरेर दुई जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।