नेपालमा आज थपिए एक हजार १११ जना कोरोना संक्रमित मृत्यु हुनेको संख्या १८३ पुग्यो
काठमाडौँ । नेपालमा आज एक हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा ३३४ महिला र ७७७ पुरुष रहेका छन् ।उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा दुईजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५६० जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला गरेर दुई जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणाट थप आठ जनाले ज्यान गुमाएका छन् । जसमा पाँच जना महिला र तीन जना पुरुषकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एक जना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एकरएकजना महिला रहेका छन् । त्यसैगरी काठमाडौँका ८४ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ ।