गौ हत्याका आरोपीलाई जनप्रतिनिधिको जिम्मा जमानीमा रिहा
झापा । गौहत्या गर्ने आरोपीद्धयलाई बिना सर्त प्रहरीले रिहा गरेपनि झापा गाउँपालिका–३ स्थित कामाटोलीमा उत्पन्न विवाद साम्य भएको छैन । प्रहरी र स्थानीय बीच बुधवार साँझ झडपको क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गाउँपालिका ३ बस्ने बस्ने ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएपछि गाउँवासी आक्रोशित बनेका हुन् । स्थानीय मुस्लिम समुदायले विभिन्न १० बुँदे माग राख्दै कामाटोलीमा प्रदर्शन गरिरहेका छन् । स्थानीय गाउँलेले बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग सम्बोधन नभए प्रदर्शन जारी राख्ने बताइएको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्गलवार दिउँसो सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका आलमद्धय छाड्नु पर्छ भन्दै त्यहाँका गाउँवासीले बुधवार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गरेका थिए । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले सडक अवरोध गरेका थिए । बाटो अवरोध गरेका गाउँलेले प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई सामान्य बनाउन प्रतिकारमा सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागेर घाइते भएका सोही ठाउँ बस्ने ३८ वर्षीय आलमको मृत्यु भयो । पिठीयुमा दुई वटा गोली लागेका आलमको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बुधवार राती नै मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर आलमको मृत्यु पश्चात् कामाटोलीको अवस्था झन् जटिल बन्यो । त्यहाँ गाउँवासीले राती पनि सडकमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजीमा उत्रिए । त्यसपश्चात् घटनालाई सामान्य बनाउने झापाका प्रहरी, प्रशासनले गौहत्याका आरोपी आलमद्धयलाई आज बिना सर्त छाडिदिए । झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहवरमा उनीहरूलाई प्रहरीले रिहा गरी दिए । झापा गाउँपालिका अध्यक्ष साह र उपाध्यक्ष बुढाथोकी र पीडित पक्षको उपस्थितिमा जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरूले घटना सामान्य बनाउन छलफल गरेका थिए ।
सोही छलफल पश्चात् उनीहरूलाई रिहा गरिएको हो । छलफलमा पीडित पक्षले १० बुँदे माग समेत राखेका छन् । छलफलमा स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, १० लाख रुपैयाँ राहत दिनुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने, सशस्त्र र नेपाल प्रहरीका दुवै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने, प्रहरीको ज्यादती बन्द गर्नुपर्ने लगायतका माग राखेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
‘झापा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधिको जिम्मा जमानीमा अभियुक्तलाई छाडेका छौं’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले भनेका छन्– ‘शान्ति, सुरक्षाको माहौल बिग्रन नदिनको लागि अहिले आरोपीलाई रिहा गरेका हौं ।’ आरोपीलाई जनप्रतिनिधिको जिम्मा जमानीमा रिहा गरे पनि कानूनी प्रक्रिया जारी रहने प्रहरीले बताएको छ ।