बलात्कारको आरोपमो २ जना पक्राउ
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन् । शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको जनाइएको छ । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ । अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षिय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षिय विक्रम हास्दालाई पक्राउ गरेको हो । उनीहरु हेभ्भी सवारी चालक रहेको प्रहरीले जनाएको छ । टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।
किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार किशोरीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । यसअघि अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।