बिर्तामोडमा निषेधाज्ञा जारी, गौरीगन्जमा यथावत
भद्रपुर । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा समुदायमा कोरोना संक्रमण देखिएकोले, जिल्ला प्रशासन कार्यालय झापाल अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । समुदायमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले, बिर्तामोड–५ मुक्तिचोक, शनिश्चरे रोडदेखि पूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यो स्थान मुक्तिचोकदेखि पुर्वोत्तर क्षेत्रमा पर्दछ ।
प्रशासन कार्यालयले विज्ञप्ति जारी गदर्,े संक्रामक रोग सम्बन्धि ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको जानकारी गराएको छ । निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन बन्द गर्ने जनाएको छ । निषेधाज्ञा जारी गरेको स्थानमा मानिसको आवागमनलाई कढाईका साथ नियन्त्रण गरिने बिज्ञप्तिमा जनाइएको छ ।
यता, गौरीगंज गाउँपालिकामा लगाइएको निशेषाज्ञा जारी रहने जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरिक कोभिड आपत्तकालिन कार्य सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा दोस्रो चरणको कोरोना परिक्षणको नतिजा नआउञ्जेलसम्मका लागि गौरीगंज क्षेत्रमा निषेधाज्ञा जारी रहने निर्णय भएको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछी बस्ने ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएपछि गाउँपालिकाले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको ठहर गरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका पहिलो चरणमा ७४ जना र दास्रो चरणमा थप १४९ जनाको स्वाव संकलन गर्ने कार्य गरेको थियो । पहिलो चरणमा स्वाव संकलन गरिएको मध्ये ७३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको र १ जनाको पोजिटिभ रिपोर्ट आएको तथा दोस्रो चरणमा संकलन गरिएको स्वावको पीसीआर रिपोर्ट आउन बाकी रहेकोले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यस गाउँपालिका अन्तरगत कुनै पनि नाकाबाट आवागमनलाई निरुत्साहति गर्ने बैठकले निर्णय गरेको छ ।