गौरादहमा लकडाउन, बिर्तामोडमा शिल, शिवसताक्षीमा थप

भद्रपुर । झापाको गौरादह नगरपालिकाले आज सोमबारदेखि लकडाउन शुरुगरेको छ । नगरपालिकामा आज नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले भाद्र २२ सम्म आंशिक लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण समुदायमै फैलिएको र आइतबार थप २ जनामा संक्रमण पुष्टि भएकाले सम्भावित जोखिम कम गर्न तरकारी तथा खाध्यन्न र बित्तीय सस्थाहरु आंशिक समय मात्रै खुल्ला राख्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । निर्णय अनुसार अब गौरादहमा तरकारी तथा खाध्यन्नका पसल बिहान ९ बजे सम्म र बित्तीय सस्था १ बजे सम्म खुल्ला राख्ने बाकी समय सम्पुर्ण ब्यवसाय बन्द गरिने ओझाले बताए ।

साथै, गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार साहको अध्यक्षतामा बसेको बैठकले गौरादहमा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुरोध गर्ने निर्णय भएको गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत खेम ओझाले जानकारी गराएका छन् । गौरादह नगरपालिकाको वार्ड नं. ९ घर भएका २१ वर्षिय पुरूष र गौरादहको विजुली अफिसका २९ बर्षिय १ जना पुरूष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

यता, बिर्तामोड नगरपालिका–५ स्थित रत्नसुपर मार्केट शील गरिएको छ । सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिए । ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उनले भने, ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’ समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताए ।

यस्तै, झापाको शिवसताक्षी नगरपालिकाले एक साता लकडाउन बढाएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले भाद्र १ गतेबाट लकडाउन गरेको थियो । वैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्र्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता नविन इजमले जानकारी दिए अन्य व्यवसायहरु विहान ८ बजेबाट १२ बजेसम्म भौतिक दुरी कायमगरी स्वास्थ्य सुरक्षा अपनाई सञ्चालन गर्नु पर्ने प्रवक्ता इजमको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरु १० बजेबाट १ बजेसम्ममा सञ्चालन गर्नु पर्ने नगरले जनाएको छ । सबै प्रकारका भेला, सभा, सम्मेलन गोष्ठी, योग शिविर लगायतका मानिस जम्मा भएर गर्ने कार्यक्रमहरु पूर्ण रुपमा रोक लगाएको छ ।