झापाका स्थानीय तह आइसोलेसन निर्माणमा ब्यस्त

भद्रपुर । कोरोनाको संक्रमण फैलिन थालेपछि झापाका स्थानीय तह तातेका छन् । संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमितले बेड पाउन छाडेपछि स्थानीय तह धमाधम आइसोलेसन निर्माणमा केन्द्रित भएको छन् । कमल गाउँपालिकाले ५० शय्याको आइसोलेन निर्माण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भदौभित्र ५० शय्याको आइसोलेसन सञ्चालनमा आउने र त्यहाँ स्वास्थ्यकर्मी र उपचारको व्यवस्था पनि रहने बताइन् । हालसम्म कमलमा आठ जनामा संक्रमण भइसकेको छ । ५२७ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । यसैगरी गौरादह नगरपालिकाले वडा नम्बर ७ जुरोपानीमा रहेको स्वास्थ्य चौकीलाई आइसोलेसनको रुपमा प्रयोगमा ल्याएको छ । कोभिड अस्पतालमा बेड उपलब्ध नभइञ्जेलसम्म उक्त आइसोलेसनमा स्वास्थ्यकर्र्मीको निगरानीमा राख्ने र अस्पतालमा ठाउँ भएपछि पठाउने गरिएको गाउँपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

यता, दमक नगरपालिकाले पनि आफ्नै आइसोलेन निर्माण सुरु गरेको छ । भुटानी शरणार्थीहरुको सहायताका लागि युएनएचसिआरले निर्माण गरेको संरचनालाई आइसोलेसनको रुपमा उपयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । यस्तै, आम्दा अस्पतालको होस्टललाई समेत आइसोलेसनको रुपमा तयार पारिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइल् ।