दमकका कोरोना संक्रमितको अझै परीक्षण हुन सकेको छैन
दमक । झापाको दमकमा चार दिन अघि कोरोना संक्रमण पुष्टि भएका विद्युत प्राधिकरणका कर्मचारी र काठमाडौंमा संक्रमण पुष्टि भएका दमकका एक जना तरकारी व्यवसायीको सम्पर्कमा जोडिएका व्यक्तिहरुको पीसिआर परिक्षण अझै हुन सकेको छैन । विद्युत कर्मचारीका सम्पर्कित व्यक्तिहरुको पहिचान गर्ने काम सकि नसकेकाले उनीहरुको परीक्षणका लागि स्वावको नमुना संकलन भईनसकेको हो । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्ने काम भईरहेको छ । सोमबार दिउँसो बरालले भने – सम्पर्कित व्यक्तिको पहिचान कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको छ त्यो काम सकिएपछि आवश्यकताका आधारमा मात्रै पीसिआर परिक्षण हुने हो ।
कन्ट्रयाक ट्रेसिङमा संक्रमित व्यक्तिसंग को को मानिसहरु के कति दुरी भित्र , कुन समयमा भेट भएको हो, कस्तो किसिमको उठबस वा सम्पर्क हो ? जस्ता कुराहरु उल्लेख हुने र त्यसैका आधारमा आवश्यक मानिसहरुको पीसिआर परिक्षण गर्ने गरिन्छ । तरकारी व्यवसायीका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पहिचान भने भइसकेको निरीक्षक बरालले जानकारी दिए । उनका अनुसार ति तरकारी व्यवसायीसंगको सम्पर्कमा जोडिएका मानिसहरुको भने कन्ट्रयाक ट्रेसिङ तयार भइसकेको छ, उनीहरुको पीसिआर परिक्षणका लागि आवश्यक तयारी भईरहेको छ । कन्ट्रयाक ट्रेसिङका आधारमा ति संक्रमित व्यवसायीसंग करिब १२ जना जोडिएको तथ्य फेला परेको निरीक्षक बरालले बताए । काठमाडौंमा उपचाररत ति व्यवसायीको सम्पर्कमा उनीसंगै काठमाडौं गएका र घर परिवारका सदस्यहरु मात्रै रहेको प्रारम्भिक बुझाई छ ।