चौपाया चोरी गर्ने र तस्करहरुको गतिविधि बड्दो

गौरीगन्ज । झापाको सुदूर दक्षिण पश्चिमस्थित गौरीगंज गाउँपालिका क्षेत्रको भारतीय सीमाना नजिकको गाउँहरुमा चौपाया चोरी गर्ने र तस्करहरुको गतिविधि बढेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने स्थानीयवासीहरुले चौपाया चोरी हुने र तस्करहरुको गतिविधि बढेको भन्दै ज्युधनको सुरक्षाका लागि गौरीगंज गाउँपालिकामा निवेदन दिएका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने सादानन्द यादवको ३ वटा, मंगला यादवको ३ वटा र किसनलाल यादवको ३ वटा चौपाया आइतबार रातीे गोठबाट फुकाएर भारततर्फ चोरहरुले लगेका थिए । रातको करिब १२ बजेको समयमा गुवालीबाट चौपाया खोली भारततर्फ लाने क्रममा स्थानीयहरुले थाहा पाएर होहल्ला गर्दा चोरहरु चौपाया छाडेर भारततर्फ भागेका थिए । गौरीगंज क्षेत्रको सीमानाकामा चौपाय चोरी गर्ने र तस्करी गर्ने गराउने गतिविधि पछिल्लो समयमा बढेको भन्दै ३० भन्दा बढी देवीगंजवासीले गौरीगंज गाउँपालिकमा शान्ति सुरक्षाका लागि निवेदन दिएका हुन् ।

भारतसंगको सीमानाका बन्दको मौका छोपी प्रतिवन्धित सुर्र्तीजन्य पदार्थ , खाद्यान्न सामान र रसायनिक मल नेपाल तर्फ भित्रियाउने र भारततर्फ चौपाया र मदिरा पदार्थ लाने कार्य भइरहेको स्थानीय सादानन्द यादवले बताए । सिमावर्ती स्थानीयहरूका अनुसार रातको समयमा नेपालबाट चौपाया र मदिरा पदार्थ तथा भारततर्फबाट माछा, रसायनिक मल, खैनी, कपडा, खाद्यान्न सामान तस्करी हुदै आएको छ । ‘राती साईकलमा सामान लगेको हामी थाहा पाउँछौ’ – गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने विरेन यादव भन्छन् – ‘२५ , ३० जनाको अपरिचित व्यक्तिको हुल हुन्छ ज्यानको डरले केही बोलिदैन ।’ सुर्ती मात्र होईन चिनी, तेललगायत अन्य खाद्यान्न सामानहरू पनि देवीगंज नाकाबाट भित्रीरहेको उनले बताए साईकलका साईकल यस नाकाबाट रातिराति अबैध सामग्री भित्रिरहे पनि प्रहरी उनीहरूलाई नदेखे झै गरी बस्नु अच्चम भएको बताउँदै स्थानीयहरूले कहि कतै प्रहरीको मिलेमतो त छैन शंका जताए ।

स्थानिय देवनारायाण यादवका अनुसार, रातको ११ र १२ बजे दिनहु– ‘साईकल र पैदलमा रातभर देवीगंज क्षेत्रबाट भारत तर्फ मालसमान लाने र भारतबाट विभिन्न सामानहरू नेपालतर्फ तस्करहरूले ल्याउने गरेको देख्छु । कहि हामीमाथि आक्रमण गर्छन् कि भनेर डरले मात्र हामी बोल्न नसकेको हो । उनले थपे – ‘रातभर रमिता हुन्छ तस्करहरूको चहलपहलले सुत्नै पाउदैनौ ।’