शिवसताक्षी नगरपालिकामा समुदायमा कोरोना भाइरस

दुधे । झापाको शिवसताक्षी नगरपालिकामा समुदायमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ का विद्युतका दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै समुदायमा फैलिएको पुष्टि भएको हो । विद्युत प्राधिकरणमा दमकका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा शिवसताक्षी – ४, ब्लुचोक विद्युत सबस्टेसनका दुई कर्मचारी पिसिआर परीक्षण गर्दा कोराना भाइरस पोजेटिभ देखिएको शिवसताक्षीका क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । उनीहरुलाई मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा पठाउने तयारी भइरहेको र कन्ट्रयाक ट्रेसिङ सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आज राति १२ बजेदेखि भदौ ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । आज बसेको नगर कार्यापालिकाको बैठकले पसलहरु विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । हाट बजार भने अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । व्यापारीले भौतिक दुरी कायम गरी सेनेटाइजर, मास्क, ग्लोब्स अनिवार्य रुपमा लगाएर मात्र पसल सञ्चालन गर्नु पर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ । अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन समेत नगरप्रमुख चन्द्रकुमार सेर्माले आग्रह गरेका छन् ।