सञ्चार क्षेत्रका लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

भद्रपुर । कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्यले विशेष प्याकेज ल्याउनु पर्ने पत्रकारहरुको नेतृत्वले जोड दिएका छन् । मंगलबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २१ औं स्थापना दिवसको अवसरमा ‘कोरोना भाइसरको कारण प्रदेश नम्बर १ मा पत्रकारिता क्षेत्रमा परेको प्रभाव’ बिषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले देश परिवर्तनको लागि सञ्चार क्षेत्रबाट सरकारको नेतृत्व गरिरहेका नेताहरु भन्दा कम भूमिका नरहे पनि संक्रमणको वेला राज्यकोे विशेष प्याकेज ल्याउनु पर्ने जोड दिएका छन् ।

‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजना गरिएको अन्तरकृयामा बोल्दै फोनिजका अध्यक्ष संघीय समितिको अध्यक्ष डण्ड गुरुङले कोरोना भाइरस र लकडाउनको कारण सञ्चार क्षेत्रमा नकारात्मक असर परे पनि राज्यले सञ्चार क्षेत्रको समस्याबारे वेवास्ता गरेको गुनासो राखेका थिए । सुरक्षा र स्वास्थ्य कर्ममा खट्ने व्यक्तिहरुलाई सहयोग गरे पनि सञ्चार क्षेत्रलाई तीनै तहको सरकारले खास वास्ता नगरेको उनको भनाई थियो ।

अध्यक्ष गुरुङले ठूला मिडिया हाउसहरुको कडा रुपमा विरोध गर्दै ‘स्वकल बिग हाउस’ले सञ्चारकर्मी र यो क्षेत्रमा चरम शोषण गरिरहेको आरोप लगाए । ‘बिग’ हाउसकै कारण समानुपातिक विज्ञापन प्रणाली लागू हुन नसकेको आरोप लगाउदै उनले नेपाल पत्रकार महासंघ र आदिबासी पत्रकार महासंघ मिलेर यस विरुद्ध लाग्नु पर्ने औल्याए ।

केही ब्यक्ति र समूह मिडिया हाउस सञ्चालकलाई बद्नाम गराउन लागि परेको आरोप लगाउदै पत्रकारहरुलाई जुनसुकै प्रकारको समस्या भए उजुरी गर्न र त्यसको लागि आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई थियो । गुरुङले कोरोनाका कारण देश संक्रमणमा फसेको बेला पत्रकार महासंघले सदस्यता शुल्क छुट गर्नुको साथै नविकरण र नयाँ सदस्यताको लागि आवेदनको मिति बढाइनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व प्रदेश संयोजक तथा ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक र सम्पादक किशोर कुमार कार्कीले सरकारले ध्यान नदिएर कोरोना भाइरसको कारण भएको लकडाउनले सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको बताए । लामो लकडाउनको कारण बिज्ञापन लगायतको श्रोत घटेको कारण मिडिया हाउसहरु धरासायी बन्दै गएको कार्कीले बताए । मिडियाको लागि युरोप, अमेरिकातिर सरकारले राहत स्वरुप कार्यक्रम ल्याए पनि नेपालमा भने कहिबाट केही नभएको सम्पादक कार्कीको गुनासो थियो ।

मिडिया हाउसहरु बचाउन सस्तो व्याजमा ऋण, स्थानीय तहहरुबाट विज्ञापनको फ्लो बढाउने लगायतको योजना ल्याउनु पर्ने उनको भनाई थियो । मिडियाले लोकतन्त्रलाई बचाउन र सरकारले ल्याएको योजना पारदर्शीता कायम गर्न सहयोग गर्ने भएकाले मिडिया बचाउन तीनै तहका सरकारले प्याकेज ल्याउनु पर्ने प्रबन्धक कार्कीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी अध्यक्ष विक्रम लुइटेल, फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले समाचारको बिषयबस्तु, न्युज रुम र श्रमिकहरु हरेक मिडिया हाउसमा समावेशी हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा संघीय सल्लाहकार संजयसन्तोषी राई सहभागि रहेको कार्यक्रममा सचिव मिलन लिम्बू, प्रदेशका सल्लाहकार संयोजक जनकऋषी राई, प्रदेश इन्चार्ज दिपिन राईलगायतले पत्रकारहरुको पेशागत सुरक्षाका बारेमा आफनो विचार राखेका थिए । अन्तरकृयामा प्रदेश समितिका पदाधिकारी सदस्यहरु, विभिन्न जिल्लाका अध्यक्ष लगायत करिव ५० जना पत्रकारहरु सहभागिता रहेको थियो ।