अर्जुनधाराले आइसोलेसन वार्ड सञ्चालन गर्ने

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित व्यक्तिका उपचार गरिरहेका प्रदेशका कोभिड अस्पतालमा बिरामीको भरिभराउ भएपछि अर्जुनधाराले सरकारको अवधारणा अनुरुप नै आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको हो । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी बताए । उनका अनुसार अर्जुनधारा वडा नम्बर ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा सञ्चालन गर्ने नगरले तयारी थालेको छ । सरकारको आइसोलेशनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ बमोजिम सञ्चालन हुने भएको छ । सुरक्षा निकायका प्रमुख, स्वास्थ्य निकायका प्रमुखसहितको बैठकले नगरमा आइसोलेशन वार्ड सञ्चालनसँगै स्वास्थ्य मापदण्ड २०७७ को परिच्छेद २ अनुरुप होम आइसोलेशन पनि सञ्चालन गर्ने निर्णय भएको छ ।