कोरोनाबाट ज्यान गुमाउने बढ्दै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु
काठमाडौं । लकडाउन खुलेयता कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै ज्यान गुमाउनेको संख्यामा पनि ह्वात्तै वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार बताए अनुसार पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाएका छन् । पछिल्लो समय ज्यान गुमाउनेमा युवा र प्रौढ उमेर समूहका पनि रहेका छन् ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाएकामध्ये २ जना ४० वर्षमुनीका छन् भने अन्य ६ जना ४० वर्षमाथिका छन् गौतमका अनुसार ज्यान गुमाउनेमध्ये तीनजना ६० वर्षमाथिका छन् । गौतमले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ ।
त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन् । धादिङको नीलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका(१ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ । त्यस्तै जनकपुर उपमहानगरपालिका १ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ । उता सप्तरीको डाक्नेश्वरी(८ घर भई हाल राजविराज नगरपालिका ६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ । मोरङमा पनि कोरोनाबाट ज्यान गुमाउने थपिएका छन्।
मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका(२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ । अर्कातिर बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ । यसरी बुधबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१ पुगेको छ।