अध्यक्ष-महासचिवको रडाकोले बक्सिङ सघंमा तनाव
काठमाडौं । नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ । आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ । यति वेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगुलमा रुमलिएको छ । दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन ।
अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पारदर्शिता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन् । आन्तरिक खिचातानीको भुमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन । किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन । प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छन् । विवाद समधानका लागि अध्यक्ष र कार्यसमितिका पदाधिकारीहरू बसेर छलफल गर्नु पर्ने महासचिव भट्टाचार्य सुझाव दिन्छन् । यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन् । निरन्तर प्रयास गर्दा पनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन्। संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न मागसहित राखेपमा उजुरी दिएका थिए । सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ । नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो । आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा गम्भीर असर परिरहेको छ । सरोकारवालाले नियामक निकायबाट निगरानी गरेर उचित कदम चाल्नुपर्ने माग गरेका छन् ।