कांग्रेसका १२ नेताले विभाग खारेज गर्न भने
काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताहरुले सभापति शेरबहादुर देउवाले पछिल्लो समय गठन गरेको विभागहरु तत्कालै खारेज गर्न माग गरेका छन् । नेताहरुले आज मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्नु उचित नभएकोले तत्कालै खारेज गर्न र अब नयाँ गठन नगर्न पनि आग्रह गरेका हुन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति जारी गर्दै सभापति देउवाको पछिल्लो गतिविधिबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरुले पार्र्टीको सबै तहको अधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्दा आगामी महाधिवेशन निष्पक्ष नहुने निचोड निकालेका छन् । सभापति देउवाले आचारसंहितासँगै विधान पनि मिचेको आरोप पनि लगाएका छन् । साथै सभापति विधानको संरक्षक हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताएका छन् ।
‘पार्र्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेताबीच, नेताकार्यकर्ताबीच र पुरानो पुस्ता एवं नयाँ पुस्ताबीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनुपर्ने दायित्व हामी सबैको हो । यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, । ‘पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथीहरुबीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसलापूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो । तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ ।’ देउवाको गतिविधिले पार्र्टीप्रति जनताको विश्वास गुम्दै गएको पनि उनीहरुले उल्लेख गरेका छन् । ‘पार्र्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ । तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त एैतिहासिक विरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं । हामीप्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ’ विज्ञप्तिमा भनिएको छ । उनीहरुले देउवाका कारण पार्टीको छवि ह्रास भएको भन्दै त्यसको जिम्मा लिनुपर्ने पनि भनेका छन् । पार्टीको विधि छोडेर गुटको स्वार्थ कांग्रेसका नेताहरु लागेको पनि विज्ञप्तिमा भनिएको छ ।