बलले लागेर घाइते सुनारको उपचार गर्न अस्पतालले नमान्दा मृत्यु

कन्काइ । फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका झापाको कनकाई नगरपालिका–५ का १७ बर्षिय रोशन सुनारको झापाका विभिन्न अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ ।

केहीदिन अघि साथीहरुसँग फुटबल खेल्ने क्रममा सुनारको छातीमा बलले लागेको थियो । छातीमा बलले लागेपछि घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । उनी झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा उपचारका लागि आए । त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो । कोरोना भाइरसको संक्रमणको शंका गरेर विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो ।

त्यहाँ उपचार गराउन संभव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए । त्यहाँ पनि पिसिआर रिपोर्ट मागे । कनकाई अस्पतालमा पनि सुनारको उपचार संभव भएन ।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे । मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो । तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरसहितको सघन उपचार चाहियो ।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भेन्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो । त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे । त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए ।

मृतक सुनारमा कोरोना भाइरसको संक्रमण छ छैन भनेर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको र साँझसम्ममा रिपोर्ट आउने डा.कँडेलले बताए । कोरोना लागेको आशंकाका कारण झापाका निजी अस्पतालले भर्ना लिन नमानेका हुन् ।